हाइड्रो पढ्न ताप्लेजुङ

हेल्प खबर
११ माघ २०७७, आईतवार ०९:५९

ताप्लेजुङ : कालीकोटका विजय ऐडी उच्च शिक्षाका लागि ताप्लेजुङ आएका छन्। उनी फुङ्लिङ नगरपालिका–३ स्थित बालसुबोधनी संस्कृत माविमा हाइड्रो इन्जिनियरिङ पढिरहेका छन्। प्राविधिक विषयले ऐडीलाई कर्णालीदेखि ताप्लेजुङ ल्याएको हो। 

उनीसँगै एसईई उत्तीर्ण गरेका अन्य साथी उच्च शिक्षाका लागि सुगम ठाउँका विद्यालय पुगेका छन्। ‘कोही काठमाडौं, कोही सुर्खेतलगायत सहरका विद्यालय गए। म भने हाइड्रो विषय पढ्ने रहरले यति टाढाको विद्यालय आइपुगें’, ऐडीले भने। सो विद्यालयमा अहिले ३६ जना विद्यार्थीले डिप्लोमा इन हाइड्रो इन्जिनियरिङ अध्ययन गरिरहेका छन्। यो विषय ताप्लेजुङका अतिरिक्त भक्तपुर र झापाको एउटा विद्यालयमा मात्रै अध्यापन हुने गर्छ। 

राम्रो पढाइको अपेक्षा गर्दै ऐडीसहित सुनसरीका विनोदकुमार यादव ताप्लेजुङ आएका छन्। पहिलो पटक पहाड चढेका यादव हिमाली जनजीवनसँग घुलमिल हुन सिक्दै छन्। ‘प्राविधिक विषयको अध्ययनसँगै यहाँको संस्कृति, रहनसहन, परम्पराका बारेमा पनि जान्ने अवसर मिलेको छ’, यादव भन्छन्, ‘उच्च शिक्षाका लागि सुगम ठाउँकै विद्यालय रोज्नुपर्छ भन्ने भनाइ गलत हो।’ विसं २००८ मा संस्कृत भाषा पाठशालाका रूपमा स्थापना भएको यो विद्यालयले वैदिक कर्मकाण्ड र हाइड्रो इन्जिनियरिङ पढाइरहेको छ।  जिल्लामै हाइड्रो इन्जिनियरिङ पढ्न पाउँदा खुसी लागेको फुङ्लिङकी आशिका बरालले बताइन्। ‘प्राविधिक विषय पढ्न धेरै खर्च गरेर टाढा जानुपथ्र्यो, अहिले घरकै भात खाएर पढ्न पाएकी छु’, उनले भनिन्। ‘प्राविधिक शिक्षा, आजको आवश्यकता’ भन्ने सरकारको नारालाई अंगीकार गर्दै प्राविधिक शिक्षाको पढाइ सुरु गरेको विद्यालयका प्रधानाध्यापक रामचन्द्र दाहालले बताए। ‘जोखिम मोलेरै कक्षा सञ्चालन गर्ने निर्णय गरेका हौं’, उनले भने, ‘पहिलो वर्ष नै पश्चिम र तराईका विद्यार्थीसमेत आएका कारण हामीलाई हौसला मिलेको छ।’ 

पछिल्लो समय मुलुकभर जलविद्युत् आयोजना निर्माणको लहर नै चलेको छ। ताप्लेजुङमै ५० भन्दा बढी आयोजना निर्माणका क्रममा छन्। महँगो खर्च गरेर बाहिर जानुपर्ने अवस्था अन्त्य गर्न हाइड्रो इन्जिनियरिङ विषयको पढाइ सुरु गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिमान पालुङ्वाले बताए। ‘अहिले नेपालमा सयौं जलविद्युत् आयोजना निर्माणको चरणमा छन्, हामीले उत्पादन गरेका विद्यार्थी त्यहीँ बिक्छन्’, उनले भने, ‘तीन वर्षको पढाइ सकेपछि रोजगारका लागि भौतारिनु पर्दैन।’ स्नातक तहको यो कोर्स तीनवर्षे हो। वर्षमा दुई सेमेस्टरको पढाइ हुन्छ। भर्ना शुल्क २० हजार र मासिक शुल्क ५ हजार ५ सय रुपैयाँ तोकिएको छ। अन्नपूर्णपोष्टबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*