भाैतिक मन्त्रीद्वारा अाेटिएस शुभारम्भ

हेल्प खबर
४ मंसिर २०७७, बिहीबार १८:१७

काठमाण्डौ, । भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय वसन्तकुमार नेम्बाङ्गले अनलाईन टिकेटिङ मोनिटरिङ्ग सिस्टम (ओटिएमएस) Online Ticketing Monitoring System (OTMS) शुभारम्भ गर्नु भएको छ । बिहिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सिंहदरबारमा आयोजित कार्यक्रममा मन्त्री ज्यूले अनलाईन एप्लिकेशनको लगइन बटन थिचेर उद्घाटन गर्नु भएको हो ।
सार्वजनिक यातायात क्षेत्रलाई अनलाईन एप्लिकेशनको माध्यमबाट अनुगमन गर्ने प्रणालीको उद्घाटन गर्दै मन्त्री नेम्बाङ्गले बदलिदो परिस्थितिमा यातायात क्षेत्रलाई व्यवस्थित गर्न यस्तो प्रणालीले ठूलो सहयोग गर्ने बताउनु भयो । उहाँले भन्नुभयो ‘सार्वजनिक यातायात क्षेत्रलाई नविनतम रुप दिदै यसलाई आधुनिक प्रविधिमैत्री बनाएर, आधुनिक प्रविधिसंग आबद्ध गराउँदै लानु पर्छ ।’
उहाँले यातायात क्षेत्रलाई पारदर्शी, सुरक्षित तथा वातावरणमैत्री बनाउनु आवश्यक रहेको औलाउँदै त्यसको लागि नीतिगत व्यवस्थापन सुरु गरिएको उल्लेख गर्नु भयो । उहाँले भन्नुभयो ‘यातायात क्षेत्रका धेरै अधिकारहरु प्रदेश अन्तर्गत गएका छन् । कानुनहरु, नीतिहरु तर्जूमा भइरहेका छन् । यद्यपी केही नीतिगत कुराहरु अहिले संघमा पनि छन् । जसको निम्ती संघीय कानुनहरु बनाउन मन्त्रालय लागिपरेको छ ।’
मन्त्री नेम्बाङ्गले सार्वजनिक यातायातलाई एकिकृत, पारदर्शी, प्रविधिमैत्री, सुरक्षित भरपर्दो बनाएर लानका निम्ति यातायात प्राधिकरणको परिकल्पना गरिएको उल्लेख गर्नु भयो । उहाँले भन्नु भयो ‘सार्वजनिक यातायात प्राधिकरण बनाउनका निम्ति संसदमा विधेयक पेश गरिएको छ । हाल राष्ट्रियसभाबाट पारित भइ प्रतिनीधिसभामा प्रस्तुत भएको छ ।’
उहाँले अनलाईन मोनिटरिङ सिस्टमको कार्यान्वयनले यातायात व्यवसायी, कर्मचारी र यात्रु सबैलाई फाइदा हुने विश्वास समेत व्यक्त गर्नुभयो ।
त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले अहिले डिजिटल प्रविधिको प्रयोगबाट यातायात क्षेत्रलाई चुस्त बनाउन खोजिएको बताउनु भयो ।
उहाँले यस्तो प्रविधिहरुलाई निरन्तर परिमार्जन गर्दै लानु पर्नेमा समेत जोड दिनु भयो ।
यातायात व्यवस्था विभागले तयार पारेको एप्लिकेशनको बारेमा डेभलोपर मोहन बेल्बासेले प्रस्तुती गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*