गाउँ—गाउँमा ‘मास्क र स्यानिटाइजर’वितण गर्दै : पर्यटन मन्त्री

हेल्प खबर
२६ कार्तिक २०७७, बुधबार १७:१८

दिलकुमार लिम्बू

ताप्लेजुङ / संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आफू पुगेको ठाउँमा मास्क र स्यानिटाइजर वितरण गर्दै आउनुभएको छ । ताप्लेजुङको स्थानीय तहस्तरीय भ्रमणमा रहनुभएका मन्त्रीले उहाँ पुग्नुभएको प्रत्येक कार्याक्रमा मास्क र स्यानिटाइजर वितरण गर्नुभएको हो ।

कोरोना भाइरस (कोभिड–१९) को प्रभावले आक्रान्त बनाइरहेको अवस्थामा सबैले आफ्नो स्वास्थ्य सुरक्षालाई ध्यान दिनुपर्ने सन्देश दिने उद्देश्यलेसमेत मन्त्री भट्टराईले व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री मास्क र स्यानिटाइजर वितरण गर्दै आउनुभएको हो । ताप्लेजुङका प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका मन्त्री भट्टराईले स्थानीय तहस्तरीय भ्रमणको अन्तिम दिन बुधबार आठराई त्रिबेणी गाउँपालिकाको स्वास्थ्य शाखालाई करिव पाँच सय थान मास्क र स्यानिटाइजर वितरण गर्नुभएको छ ।

तिहार पर्वपछि ताप्लेजुङका छुटेका स्थानीय तहमा मन्त्रीले भ्रमण गर्नुहुने योजना रहेको र भ्रमणको क्रममा त्यसबेला पनि कोरोनाबिरुद्ध प्रयोग हुने स्वास्थ्य सामग्री वितरण गरिने मन्त्रीका प्रमुख स्वकीय सचिव प्रेमप्रसाद गुरागाईले जानकारी दिनुभयो । गुरागाईका अनुसार यसअघि कोरोना फैलिन थाल्दाको समयमा पनि जिल्लास्थित कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिमार्फत पीपीई, मास्क, स्यानिटाइजर, थर्मल गन, आरडीटी किट, पीसीआर भाइल लगायतका स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउनुभएको थियो ।

यसपटक मन्त्री भट्टराईले भ्रमण गर्नुभएको स्थानीयहरु फक्ताङ्लुङ गाउँपालिका, मिक्वाखोला गाउँपालिका, मेरिङ्देन गाउँपालिका, मैवाखोला र आठराई त्रिबेणी गाउँपालिकामा मास्क र स्यानिटाइजर वितरण गर्नुभएको हो । मन्त्रीकै पहलमा कोरोनाका कारण रोजगारी गुमाएर गुजारा चलाउनलाई समस्यामा परेका परिवारका लागि बिभिन्न प्रकृतिका खाद्य सामग्री पनि उपलब्ध गराउनुभएको मन्त्रीका प्रेस संयोजक राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । गत २१ कातिक देखि २८ गते सम्म पर्यटन मन्त्री ताप्लेजुङमा रहने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*