डिस्चार्ज हुनेको संख्या बढे सँगै कोरोना सक्रिय संक्रमित घटे

हेल्प खबर
१९ कार्तिक २०७७, बुधबार ०७:२०

काठमाडौं। देशभर कोरोना भाइरसका सक्रिय सङ्क्रमितको संख्या घटेको छ। संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएपछि सक्रिय सङ्क्रमितको संख्या घटेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३७ हजार ४ सय ७६ जना सक्रिय संक्रमित छन्।

कुल १ लाख ७९ हजार ६ सय १४ संक्रमितमध्ये १ लाख ४१ हजार १ सय ३४ जना संक्रमणमुक्त भएका छन्। जुन ७८ दशमलव ५७ प्रतिशत हो। यस्तै, कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १ हजार नाघेको छ। मंगलबार थप २० जना सङ्क्रमितको मृत्यु भएसँगै मृतकको संख्या १ हजार ४ पुगेको हो।

मंगलबार देशभर थप ३ हजार १ सय ४२ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ४ सय ४० जना कोरोना संक्रमित विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्याङ्कअनुसार ६८ जना भेन्टिलेटरमा र ३ सय ७२ जना संक्रमित आईसीयूमा उपचाररत छन्।

मंगलबार ३७ हजार ४ सय ७६ जना सक्रिय संक्रमितमध्ये ३० हजार ६ सय ९४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा १८ हजार १ सय ६६ जना होम आइसोलेसनमा छन्।

यस्तै, प्रदेश १ मा ५ हजार ६ सय १, प्रदेश २ मा १ हजार ४५, लुम्बिनी प्रदेशमा २ हजार ८ सय ३२, सुदूरपश्चिम प्रदेशमा ८ सय ६५, गण्डकी प्रदेशमा १ हजार ७ सय १० र कर्णाली प्रदेशमा ४ सय ७५ जना होम आइसोलेसनमा रहेका छन्।

आईसीयूमा रहेका सङ्क्रमितको संख्या सबैभन्दा बढी बाग्मती प्रदेशमा १ सय ८२ जना आईसीयू र ३९ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ४७ जना आईसीयू र ४ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३६ जना आईसीयू र १५ जना भेन्टिलेटरमा र प्रदेश २ मा १० जना आईसीयूमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै, सुदूरपश्चिममा ६ जना आईसीयू र २ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ८६ आईसीयू र ८ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ५ जना आईसीयूमा उपचाररत छन्। कोरोनाको आशङ्कामा गत २४ घण्टामा ११ हजार १ सय ६६ जनाको पीसीआर परीक्षण गरिएको छ।

योसँगै नेपालमा पीसीआर परीक्षणको कुल संख्या १४ लाख ८० हजार ९ सय ७८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल १ हजार २ सय ७७ जना क्वारेन्टाइनमा छन्। यस्तै, काठमाडौं उपत्यकामा मंगलबार १ हजार ४ सय ६८ जना कोरोना संक्रमित थपिएका छन्।

देशभर थपिएका ३ हजार १ सय १४ मध्ये काठमाडौं उपत्यकामा १ हजार ४ सय ६८ जना संक्रमित थपिएका हुन्। काठमाडौंमा १ हजार २ सय ४२, भक्तपुरमा ६३ र ललितपुरमा १ सय ६३ जना संक्रमित थपिएका छन्।

योसँगै सङ्क्रमितको संख्या काठमाडौंमा ६५ हजार ७ सय ८८, भक्तपुरमा ५ हजार ९ सय ६६ र ललितपुरमा ९ हजार ३ सय १४ जना पुगेको छ। हालसम्म काठमाडौंमा २ सय ४९, भक्तपुरमा ६८ र ललितपुरमा ६३ जना सङ्क्रमितको मृत्यु भएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*