असोज २० गतेदेखि बन्द रहेको तातोपानी नाका पुनः सञ्चालनमा

हेल्प खबर
१३ कार्तिक २०७७, बिहीबार १६:१०

काठमाडौं। असोज २० गतेदेखि बन्द तातोपानी नाका आजबाट एकतर्फी सञ्चालनमा आएको छ। बिहीबार दिउँसो १ बजे मालवस्तु बोकेको एक चिनियाँ कन्टेनर मितेरी पुल भएर नेपाली भन्सार यार्डमा आइपुगेको तातोपानी भन्सार कार्यालयले जनाएको छ।

तत्कालका लागि तातोपानी नाकाबाट नेपालतर्फ आयात हुने कार्यालयको भनाइ छ। नाका खुलेको संकेत स्वरुप आज एउटा मात्रै कन्टेनर नेपाल आउने र भोलिदेखि कम्तिमा ७ वटा चिनियाँ कन्टेनरले हरेक दिन सामान नेपाली यार्डसम्म ल्याइदिने भन्सार कार्यालयले जनाएको छ।

बुधबारदेखि नै नाका खुला गर्ने सहमति भएपनि प्राविधिक कारणले कन्टेनर नेपाल आउन नसकेको कार्यालयले जनाएको छ। नाका सञ्चालन गर्न अपनाइएको स्वास्थ्य प्रोटोकलअनुसार नेपाली पक्षले नेपाली भूभागमा तयार पारेको आइसोलेसनमा चिनियाँहरूले सामान खसाल्नेछन्।

चीनबाट आएको सामान २४ देखि ४८ घण्टासम्म क्यान्टिनमा राखिनेछ र त्यसपछि मात्रै नेपालतर्फ ढुवानी गरिने छ। चीनबाट आएको सामान लोड गर्न तथा नेपालतर्फ ल्याउनका लागि तीन वटा समूहमा श्रमिकहरूलाई नेपाली पक्षले पीसीआर गरेर क्वारेन्टाइनमा राखेको छ।

भन्सारमा आएको सामान लोड अनलोड तथा ढुवानीका लागि खटिने श्रमिकको पीसीआर रिपोर्ट हरेक १४ दिनमा बुझाउनुपर्ने सर्त चिनियाँ पक्षले राखेको छ। नेपालबाट चीनतर्फ कोरोना सर्न सक्ने भन्दै चीनले गत असोज २० गतेदेखि नाकाबाट हुने मालवस्तु ढुवानी रोकेको थियो।

त्यस अघि पनि बाढी र पहिरोका कारण झण्डै तीन महिना नाका अवरुद्ध भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*