मेसी फर्किए प्रशिक्षणमा

काठमाडौं। बार्सिलोनाका स्टार स्ट्राइकर लिओनल मेसी प्रशिक्षणमा फर्किएका छन्। गत सिजन सकिएलगत्तै क्लब छाड्ने निर्णयमा पुगेका मेसी पुनः क्लबमा बस्न तयार भएपछि पहिलोपटक प्रशिक्षणमा फर्किएका हुन्।
३३ वर्षीय मेसीले गत अगस्ट २५ मा फ्याक्समार्फत पत्र पठाउँदै आफू क्लब छाड्ने निर्णयमा पुगेकोले रिलिज दिन अनुरोध गरेका थिए। तर, बार्सिलोनाले राखेको रिलिज ‘क्लज’ तिर्न कुनै पनि क्लबबाट असम्भव रहेको भन्दै उनले अन्ततः आगामी सिजन बार्सिलोनाबाटै खेल्ने गत शुक्रबार बताएका थिए।
बार्सिलोनाको सबैभन्दा उच्च गोलकर्ता अर्जेन्टिनी स्टार मेसीले पहिलोपटक क्लबका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानसँग प्रशिक्षण गरेका हुन्। मेसी फिलिप कौटिन्होलगायत खेलाडीसँगै प्रशिक्षणमा सहभागी भएका थिए।
साथै प्रशिक्षण सुरु गर्नुपूर्व उनले कोरोना परीक्षण पनि गराएका थिए। उक्त परिक्षणको रिपोर्ट नेगेटिभ आएसँगै उनले बार्सिलोनाबाट नै प्रशिक्षण सुरु गरेका स्पेनिस सञ्चारमाध्यमहरुले जनाएका छन्।