खाडी मुलुक छिर्न ‘हलाल’ सर्टिफिकेट लिने प्रक्रियामा नेपालका अलैंची व्यवसायी

हेल्प खबर
२२ भाद्र २०७७, सोमबार १२:२६

विराटनगर । नेपाली अलैंची सबभन्दा बढी खपत हुने खाडी मुलुकहरूमा ‘हलाल’ सर्टिफिकेट प्राप्ति प्रक्रियामा अलैंची व्यवसायीहरूले पहल अगाडि बढाएका छन् ।

कतारमा नेपाली अलैंचीले ‘हलाल’ सर्टिफिकेट पाए नेपालकै ट्रेडमार्कमा निर्यात हुनेछ । यसले नेपालमा खस्कँदै गएको अलैंचीको मूल्यलाई सुधार गर्नेछ । ‘हलाल’ सर्टिफिकेट कतारले दिने अग्र्यानिक रजिस्टर हो, जुन त्यहाँको नियमअनुसार उत्पादन भएको हुनैपर्छ ।

नेपालको अलैंची ‘एभरेस्ट बिग कार्डामम’लाई पाकिस्तानले रजिस्टर गर्दै स्वीकृति दिएपछि अब त्यहाँ नेपाली नामबाटै अलैंची विक्री हुनेछ । तर, भारतमा ३ वर्षदेखि नेपालको अलैंचीको ब्रान्ड दर्ता प्रयास भए पनि त्यो प्रक्रियामै छ ।

विश्व बजारमा नेपाली अलैंची अहिले पनि भारतीय उत्पादनका रूपमा विक्री हुँदै आएको अलैंची व्यवसायी संघका अध्यक्ष राजकुमार कार्की बताउँछन् । नेपालबाट ९५ प्रतिशत अलैंची भारत जान्छ । भारतका व्यवसायीको हातमा पुगेको नेपाली अलैंचीमा त्यहाँको उत्पादनको ट्याग लागेपछि मात्र खाडी मुलुक निर्यात हुँदै आएको छ ।

हलाल सर्टिफिकेट प्राप्त गर्न अलैंचीको अग्र्यानिक उत्पादन, हातमा पन्जा लगाएर मात्र त्यसको गोडमेल र टिपाइ गर्नुपर्ने, अलैंची उत्पादन क्षेत्रमा सु“गुरपालन पूर्ण बन्देज भएको हुनुपर्नेलगायत मापदण्ड रहेको कार्कीले जानकारी दिए ।

सरकारले २०७३ साल असार १९ गते अन्तरराष्ट्रिय बजारमा नेपालकै नाममा निर्यात गर्ने उद्देश्यले अलैंचीको ट्रेडमार्क बनाएको थियो । त्यसको ४ वर्षपछि पाकिस्तानले त्यो ब्रान्डलाई स्वीकृति दिएको छ ।

इलामको चियाभन्दा पहिले अलैंचीको ट्रेडमार्कलाई दक्षिण एशियाली देश पाकिस्तानले स्वीकृति दिएको हो ।

अध्यक्ष कार्कीका अनुसार भारत, पाकिस्तान र यूएई नेपाली अलैंचीको सबभन्दा बढी खपतकर्ता मुलुक हुन् । यी तीनओटै देशमा टे«डमार्कका लागि पठाइएको भए पनि पाकिस्तानले पहिले स्वीकृति दिएको हो । ट्रेडमार्क कार्यान्वयनपछि अलैंचीको उत्पादन प्रोशेसिङमा नियमअनुसार गर्नुपर्छ ।

विश्व बजारमा निर्यात गर्न तीन गुणस्तरमा अलैंची उत्पादन हुनुपर्नेछ । पुच्छर काटिएको सबभन्दा ठूलो अलैंचीलाई जेजे (जम्बोजेट), पुच्छर नभएको मध्यम खाले दानालाई एसटी (स्ट्यान्डर्ड क्वालिटी) र तेस्रो श्रेणीको पुच्छर भएको अलैंचीलाई (सीसी) मा वर्गीकरण गरिएको छ । वर्गीकरणअनुसार अलैंची मूल्यसमेत फरकफरक छ । पहिले श्रेणीको मूल्य जेजेको ७ सय रुपैयाँ प्रतिकिलो छ भने दोस्रो श्रेणीको एसटीको मूल्य ५ सय ७५ रुपैयाँ प्रतिकिलो र तेस्रो श्रेणीको मूल्य ५ सय ५० रुपैयाँ प्रतिकिलो पर्छ ।

संघका महासचिव सुवास भट्टराई नेपाली टे«डमार्कलाई मान्यता दिएका देशमा पहिचानसहितको गुणस्तरीय उत्पादन पठाउन सकिए नेपाली अलैंचीको बजार विश्वभर पुग्ने दाबी गर्छन् । ‘हामीले गरेको उत्पादन यसअघि भारतीय ब्रान्डमा विक्री भइरहेको थियो । अब विस्तारै नेपालकै ब्रान्डमा विक्री गर्न पाउने गरी प्रयास भइरहेको छ,’ उनले भने ।

भारतमै अलैंची उत्पादन भइरहेकाले नेपालको अलैंचीको ट्रेडमार्कलाई उसले स्वीकृति दिन आनकानी गरिरहेको भट्टराई बताउँछन् ।

नेपाल सरकारले जारी गरेको ट्रेडमार्कको नियम पालना गरेर निर्यात गर्ने कम्पनीले लोगो प्रयोग गरी उत्पादन निर्यात गर्न सक्नेछन् । आफ्नो उत्पादन आफ्नै देशकै नाममा निर्यात गर्न पाउनुले मूल्यमा समेत सकारात्मक असर पर्ने उनको तर्क छ ।

‘पहिचानसहित निर्यात गर्दा प्रतिमनमा १ देखि २ हजार रुपैयाँसम्म बढी मूल्यमा उत्पादन विक्री गर्न सकिन्छ,’ उनी भन्छन्, ‘आफ्नै नाममा उत्पादन निर्यात हुने भएपछि सबैभन्दा बढी गुणस्तरमा सुधार गर्नुपर्छ । परम्परगत प्रविधिलाई भने छाड्नुपर्छ ।’

नेपाली अलैंचीलाई भारतीय तगारो
भारतको पश्चिम बंगालमा उत्पादित अलैंचीको बजार भाउ ३ सय भारू छ । तर, नेपाली अलैंचीको बजार मूल्य भारतीय भन्सारले ५ सय भारू तोकिदिएपछि नेपाली किसानले त्यहाँका व्यापारीलाई बढी मूल्यांकनको रकम फिर्ता गर्नु परिरहेको छ ।

भारतीय व्यापारीले नेपाली अलैंचीको सबभन्दा बढी जीएसटीबापतको मूल्य फिर्ता माग्छन् ।

भारतीय भन्सार पानीट्यांकीले अलैंचीको मूल्यांकन बजार मूल्यभन्दा बढी गरेकाले भारत हुँदै तेस्रो मुलुक निकासी हुने अलैंचीले पाउनुपर्ने मूल्यमा किलोमा १५ रुपैया कम अर्थात् (प्रतिमन ४० किलो) मा ६ सय रुपैयाँ घटी पाइरहेका छन् ।

नेपाली बजारमा अलैंचीको अहिलेको मूल्य प्रतिकिलो साढे ५ सय रुपैयाँ रहे पनि भारतीय भन्सारले अलैंचीको मूल्यांकन ५ सय भारू अर्थात् ८ सय नेपाली रुपैयाँ गरेपछि किसान समस्यामा परिरहेका छन् ।

नेपालको बजारमूल्यभन्दा साढे ३ रुपैयाँ बढी मूल्यांकन हुँदा जीएसटीको रकम नेपाली किसानले बेहोर्नु परिरहेको अलैंची व्यवसायी संघ अध्यक्ष कार्कीले जानकारी दिए ।
उनका अनुसार अलैंचीको भुक्तानी गर्दा भारतीय व्यापारीले जीएसटी घटाएर भुक्तानी गरिरहेका कारण किसानले लागत मूल्य नपाएका हुन् ।

आर्थिक वर्ष २०७६/७७ मा मेची भन्सार कार्यालय काँकडभिट्टाबाट सबभन्दा धेरै अलैंची निर्यात भएको छ । मेची भन्सारबाट ३ अर्ब ९० करोड ९२ लाख रुपैयाँ बराबरको अलैंची निर्यात भएको छ ।

अघिल्लो वर्ष ३ अर्ब ८२ करोड रुपैयाँको अलैंची निर्यात भएको मेची भन्सारको तथ्यांक छ । कोरोनाका कारण मेची नाका र भारततर्फको पानीट्यांकी नाका बन्द हुँदा १५ प्रतिशत अलैंची निर्यात हुन बाँकी रहेको महासंघका महासचिव सुवास भट्टराई बताउँछन् । यो वर्ष चियाभन्दा बढी अलैंची निकासी भएको छ । मेची भन्सारबाट १ अर्ब ९४ करोड ७० लाख ५३ हजार १ सय ६० रुपैयाँको चिया निर्यात भएको छ । २ वर्षको तथ्यांक तुलना गर्दा मेची भन्सारबाट निकासीमा चियालाई अलैंचीले उछिनेको छ ।

आव २०७४/०७५ सम्म मेची भन्सारबाट सबभन्दा धेरै चिया निर्यात हुँदै आएको थियो ।

नेपालबाट भारत, बंगलादेश र भुटान निर्यात हुने तेस्रो वस्तुका रूपमा तेस्रो स्थानमा मुसुरो दाल छ । मेची भन्सारबाट यो वर्ष ९१ करोड ३४ लाख ८३ हजार रुपैयाँ बराबरको दाल निर्यात भएको छ । यस नाकाबाट आव २०७४/७५ मा १ अर्ब २४ करोड ३८ लाख रुपैयाँको दाल निर्यात भएको थियो । अघिल्ला वर्षभन्दा यस वर्ष दाल निर्यात घटेको भन्सारको तथ्यांकले देखाएको छ ।

निर्यात हुने वस्तुको चौथो स्थानमा अम्रिसो कुचो रहेको छ । आव २०७६/७७ मा ४४ करोड ३ लाख १४ हजार रुपैयाँ बराबरको अम्रिसो निर्यात भएको छ । आव २०७४/७५ को तुलनामा यस वर्ष अम्रिसो निर्यात घटेको छ । गत आवमा ३६ करोड ५५ लाख ३० हजार रुपैयाँको अम्रिसो निर्यात भएको थियो ।

अभियान दैनिकबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*