मानिसको अभिन्न अंग बन्दै जीवन बीमा : बचतको रुपमा पनि बलियो आधार

हेल्प खबर
२१ श्रावण २०७७, बुधबार १३:२४

काठमाडौं ।पछिल्लो समय बीमा गर्न सार्वसाधारण आकर्षित भएको देखिन्छ । कमाएको पैसा आफ्नो खर्च कटाएर पुग्यो भने मात्रै बीमा गर्ने चलन थियो । तर अहिले त्यस्तो अवस्था फेरिँदैछ । आम मानिसले बीमाको महत्व बुझ्न थालेपछि बीमालाई बचत गर्ने तथा पछि दुःख परेको बेलामा सहयोग पुग्ने हिसावले पनि बीमालाई आफ्नो अभिन्न र महत्वपूर्ण अंगका रुपमा लिन थालेका छन् । जब २०७२ सालमा महाविनासकारी भूकम्प गयो । त्यसबेला देखि आम मानिसमा बीमाबारे धेरै परिवर्तन आयो । त्यस विनासकारी भूकम्पले मानिसको जीवन वा धन सम्पति स्थायी हुँदैन भन्ने सिकाएको छ । आफ्नो र परिवारको भविष्य सुरक्षित गर्ने माध्यमका रुपमा अहिले बीमालाई लिन थालिएको छ । जीवन बीमाको मुख्य आधार भनेकै आर्थिक जोखिमको हस्तान्तरण हो ।

हरेक व्यक्तिको जीवनमा आर्थिक जोखिम हुन्छ नै । कुनै पनि व्यक्तिले आफ्नो जीवनको योजना बनाउँदा परिवारको भविष्यका बारेमा पनि सोच्छ र योजना बनाउँछ । बीमाले मानिसको जीवनमा आइ पर्ने हरेक किसिमका जोखिमलाई केही हदसम्म कम गर्ने र भविष्यमा आर्थिक क्षति हुनबाट बचाउने तथा परिवारजनलाई आर्थिक सहयोग हुने गर्छ । त्यसकारण पनि बीमा अपरिहार्य भएकाले यसलाई अभिन्न अंगका रुपमा लिन थालिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । आम मानिसमा भूकम्पले बीमाको महत्वबारेमा स्पष्ट पारिदियो । बीमाप्रतिको आकर्षण बढेको भएपछि जुन गतिमा बीमा व्यवसाय विस्तार हुनुपर्ने हो त्यस आधारमा अघि बढेको पाइँदैन । तर पछिल्लो समयमा पनि बीमा पहुँच बढ्दै गएको देखिन्छ । करिब २७ प्रतिशत जनतामा बीमाको पहुँच पुगेको छ ।

किन विस्तार भएन बीमा व्यवसाय ?

सरकारले बीमाको आवश्यकता र महत्वका बारेमा सर्व साधारणलाई बुझाउनै सकेको छैन । मुलुकको कुनाकुनामा बीमाको पहुँच पुग्न नसकेकाले त्यस्ता क्षेत्रका सर्वसाधारण बीमा पहुँचसम्म पुग्न सकेका छैनन् । नेपालीहरुले बीमाका बारेमा आवश्यक जानकारी नभएकाले नै यसतर्फ बढी केन्द्रीत हुन नसकेका हुन् । बीमा के हो ? किन गर्ने यसका फाइदाहरु के के छन् भन्ने लगायतका विषयमा जानकारी नपाएकाले पनि सरकारले चाहे अनुरुप बीमा व्यवसाय फस्टाउन सकिरहेको छैन । पश्चिमी मुलुकहरुमा अधिकांश नागरिकले बीमा गरेका हुन्छन् । सरकारले आफ्ना नागरिकलाई अनिवार्य रुपमा बीमा गर्नुपर्ने व्यवस्था गरेको हुन्छ ।

यस कारण गर्नुपर्छ बीमा

बीमाले जीवनमा सुरक्षा प्रदान गर्छ । बीमाले आर्थिक नोक्सान हुनबाट बचाउँछ । बीमा आर्थिक नोक्सान हुँदा वा जोखिम हुँदा दिईने क्षतिपूर्तिको ग्यारेन्टी पनि हो । बीमा गर्दा बीमित (बीमा गर्ने व्यक्ति) र बीमक (बीमा गरि कम्पनी) बीच करार सम्झौता भएको हुन्छ । हामी सबै भविष्यमा हुने भवितब्यबाट अनविज्ञ छौँ । त्यसकारण जीवन वा सम्पत्तिको बीमा गरेर जोखिम हस्तान्तरण गर्दै भविष्यमा ढुक्क हुन बीमा अनिवार्य रुपमा गर्नुपर्छ ।

बचत र लगानी

जीवन बीमा जोखिम हस्तान्तरण गर्ने आधार मात्रै होइन । यो बचत र लगानी गर्ने मुख्य आधार पनि हो । जीवन बीमाले भविष्यमा जीवन सुरक्षित बनाउनुका साथै आर्थिक रुपमा पनि टेवा पुर्याउँछ । साथै जीवन बीमा जोखिमहरुको बहन गर्ने वित्तीय साधन पनि हो । यसले जोखिम बहनसँगै बचत गराएको हुन्छ । बीमा गर्ने बिमितले हरेक वर्ष प्रिमियम बापतको तोकिएको रकम बीमा कम्पनीलाई बुझाउँदै जानुपर्छ । यदि ती व्यक्तिहरुलाई कुनै जोखिम भयो भने बीमा कम्पनीहरुले क्षतिपूर्ति बहन गर्दछ । यदि बीमा गरेका व्यक्तिहरुमा तोकिएको समय अवधिसम्म कुनै घटना भएन भने प्रतिफलसहित सो रकम बीमा कम्पनीहरुले गर्दछन् । त्यसैले जीवन बीमाले आर्थिक रुपमा सहयोग गर्छ । बीमा एक प्रकारको बचत हो ।

आर्थिक सुरक्षा

जीवन बीमा भनेकै आर्थिक सुरक्षा हो । बीमाले बीमित वा बीमितको परिवारको आर्थिक सुरक्षाको काम गर्छ । बीमाले बीमितको ठूलो रकमको जोखिम वहन गरेको हुन्छ । बीमा गरेको व्यक्तिको बीमा अवधिभित्रै मृत्यु भएमा बीमांक तथा सो अवधिसम्मको बोनस बीमा कम्पनीले निजको हकवालालाई उपलब्ध गराउँछ । सो रकमबाट बिमितको परिवारले आफ्नो जीविका चलाउन सहयोग पुग्छ ।

सन्तानको शिक्षा

हरेक व्यक्तिले आफ्ना सन्तानलाई राम्रो शिक्षा दिन चाहन्छन् । आफ्ना सन्तानको शिक्षाका लागि व्यक्तिले आफूले बीमा गर्ने गर्छन् । बीमा कम्पनीहरुले बालबालिका सम्बन्धी विभिन्न बीमा योजनाहरु सार्वजनिक गरिहरहेका हुन्छन् ।

भविष्यको योजना निर्माण गर्न

बीमाले भविष्यमा योजना बनाउन पनि सहयोग गर्छ । मानिसका इच्छा, आकांक्षाहरु धेरै माथि हुन्छन् । उनीहरुसँग भविष्यका योजनाहरु धेरै हुन्छन् । त्यसैले मानिसले आफ्नो आम्दानीको क्षमता अनुसारको योजना बनाउन सक्छन् । आफ्नो आम्दानी कति छ, सोही आम्दानीको आधारमा भविष्यको योजना बनाउन सकिन्छ । कति वर्षका लागि कति रकम बराबरको बीमा पोलिसी खरिद गर्ने भन्ने निश्चित गरेर बीमा गर्न सकिन्छ ।

बोनश

जीवन बीमाका धेरै फाइदाहरु छन् । यसले जीवन तथा आर्थिक सुरक्षाको महत्वपूर्ण काम गर्छ । त्यसका साथै बीमा गराएपछि बोनस पनि प्राप्त गर्न सकिन्छ । बीमा समय अवधी सकिसकेपछि बीमा गर्ने व्यक्तिले कुनै घटना घटेको छैन भने बीमा गरेको कुल रकममा बोनस थप गरी प्राप्त गर्न सक्छन् ।

आर्थिक जोखिमको हस्तान्तरण

मानिसले दुःख गरेर कमाएको पैसाले आफ्नो परिवारको पालन पोषण, शिक्षादीक्षा,औषधोपचार लगायत गरिरहेको हुन्छ । त्यसका साथै सरकारलाई उसले कर पनि तिरिरहेको हुन्छ । जसका कारण सरकारलाई केही मात्रामा टेवा पुगेको हुन्छ । उसका अनुपस्थितिमा परिवार आर्थिक संकटमा परेको हुन्छ । त्यस्तो संकटमा नपरोस् भनेर नै बीमा गर्नु जरुरी छ ।

कर छुट

आयकर ऐन अनुसार बीमा गरेमा २० हजार रुपैयाँसम्मको आयमा कर छुट हुने व्यवस्था छ । करमा छुट पाइने हुँदा बीमा गर्दा बीमितले त्यसबाट पनि लाभ लिन सक्छन् ।

ऋण सुविधा

बीमा गर्दा २ वर्षको बीमाशुल्क भुक्तानी गरिसकेपछि सो बीमालेखमा सो अवधिसम्मको समर्पण मूल्यको बढीमा ९० प्रतिशतसम्म बीमा कम्पनीबाट ऋण सुविधा प्राप्त गर्न सकिन्छ । ऋण सुविधा प्राप्त गर्नलाई बीमालेख बाहेक अन्य सम्पत्ति धरौटीमा राख्नु पर्दैन ।

परनिर्भरता उन्मूलन

जीवन बीमा भएमा कुनै कारणवश बीमितको मृत्यु भएमा बीमितको परिवारलाई आफ्नो जीविका चलाउन सहयोग गर्छ । जसका कारण अरु माथि भर पर्नु वा आश्रित हुनु पर्दैन । जसका कारण मनमा आनन्द हुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*